रास्वपा चापाकोटको नेतृत्वमा अकबर अली, संगठन विस्तारमा नयाँ उत्साह

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चापाकोट नगरपालिकाको प्रथम नगर अधिवेशनबाट अकबर अली नगर सभापतिमा निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न अधिवेशनमा उहाँले प्रतिस्पर्धी श्रीराम घिमिरेलाई पराजित गर्दै नगर नेतृत्व आफ्नो पक्षमा पार्नुभएको हो ।
चापाकोटमा पहिलो पटक सम्पन्न नगर अधिवेशनले पार्टीभित्र नयाँ ऊर्जा, संगठनात्मक सक्रियता र वैकल्पिक राजनीतिक अभ्यासको सन्देश दिएको सहभागीहरूले बताएका छन् । अधिवेशनमा युवाहरूको उल्लेखनीय सहभागिता देखिएको थियो भने पार्टीलाई वडा तहसम्म सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो ।
नवनिर्वाचित सभापति अकबर अलीले चापाकोटका नागरिकको विश्वासलाई आत्मसात गर्दै पारदर्शी, उत्तरदायी र जनमुखी राजनीति अघि बढाइने बताउनुभयो । उहाँले पार्टीलाई हरेक टोल र समुदायसम्म विस्तार गर्दै रास्वपाले उठाएको नयाँ राजनीतिक संस्कारलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाउनुभयो ।
अधिवेशनमा सहभागी नेता तथा कार्यकर्ताहरूले चापाकोटमा रास्वपाप्रति नागरिकको आकर्षण दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै आगामी दिनमा पार्टीलाई अझ सशक्त, जुझारु र क्रियाशील बनाउने बताएका छन् ।
निर्वाचन समितिका अनुसार अन्य पदाधिकारी तथा सदस्य चयनका लागि सहमतिको प्रयास जारी रहेको छ । प्रथम अधिवेशनले चापाकोटमा रास्वपाको संगठन विस्तार र राजनीतिक उपस्थितिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
सम्बन्धित समाचार

‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ नारासहित गल्याङमा भव्य शिक्षा दिवस समारोह सम्पन्न

४१ परीक्षार्थीमध्ये उत्तीर्ण दुई जना प्रधानाध्यापकका आफन्त परेपछि पुनर्योग र पुनःपरीक्षाको माग

बिपद मा रेडियोको भुमिका सुचना,समन्वय र जिवन रक्षा को बिपद संबाद सहित सामुदायिक रेडियो स्याङ्जा को १८औं बार्षिकोत्सब सम्पन्न ...
