गल्याङ नगरपालिकाको चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न, विकासदेखि सेवाप्रवाहसम्मका उपलब्धि सार्वजनिक

गल्याङ, स्याङ्जा। गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०८२/०८३ को चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. २ स्थित गुठीमा सम्पन्न गरेको छ। जनप्रतिनिधि, कर्मचारी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला निकाय, उपभोक्ता समिति, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रममा नगरपालिकाले हालसम्मको विकास, सेवा प्रवाह, आर्थिक अवस्था तथा आगामी कार्ययोजनाबारे सार्वजनिक समीक्षा गरेको हो।
नगरप्रमुख गुरु प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनाले विशिष्ट अतिथिका रूपमा स्वागत मन्तव्य व्यक्त गर्दै सार्वजनिक सुनुवाइले स्थानीय सरकारलाई थप पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइन्। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले आर्थिक वर्ष २०८२/०८३ को चौमासिक अवधिसम्मको प्रगति विवरण प्रस्तुत गर्दै नगरपालिकाको कुल बजेट ८१ करोड ६९ लाख ३८ हजार १ सय ९१ रुपैयाँ ७ पैसा रहेको जानकारी दिए।
उहाँका अनुसार नगरपालिकाले हालसम्म १ करोड ९५ लाख १८ हजार ४ सय ६५ रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ। यसमध्ये नगरपालिकाबाट १ करोड २२ लाख ७७ हजार ४ सय ३० रुपैयाँ तथा वडाहरूबाट ७२ लाख ४१ हजार ३५ रुपैयाँ राजस्व संकलन भएको छ। वडागत राजस्व संकलनतर्फ वडा नं. ३ ले १० लाख २२ हजार १२२ रुपैयाँ संकलन गर्दै पहिलो स्थानमा रहेको छ भने वडा नं. १० ले ३ लाख २६ हजार ५ सय १७ रुपैयाँ संकलन गर्दै सबैभन्दा कम राजस्व संकलन गरेको तथ्याङ्क सार्वजनिक गरिएको थियो। विकास निर्माणतर्फ उपभोक्ता समितिमार्फत सञ्चालन भएका ४५६ योजनामध्ये ४२६ योजना सम्पन्न भइसकेका छन् भने ३० योजना निर्माणाधीन रहेका छन्। त्यस्तै, पूर्वाधार विकासतर्फ ठेक्का प्रक्रियाबाट सञ्चालन भएका ८ योजनामध्ये ७ वटा सम्पन्न भइसकेका छन् भने १ योजना सम्पन्न हुने चरणमा रहेको जानकारी दिइयो।
शिक्षा, कृषि, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा पनि नगरपालिकाले उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ। रोजगार प्रवर्द्धन कार्यक्रमअन्तर्गत बेरोजगार सूचीमा दर्ता भएका १०३ युवामध्ये ५० जनालाई हलुका सवारी चालक तालिम तथा ५३ जनालाई बरिस्टा (कफी विशेषज्ञ) तालिम प्रदान गरिएको छ। यी तालिममार्फत युवाहरूलाई सीपमूलक रोजगारी तथा स्वरोजगारतर्फ उन्मुख गराउने लक्ष्य रहेको नगरपालिकाले जनाएको छ। न्यायिक समितिको प्रगति विवरणअनुसार हालसम्म २३ वटा उजुरी दर्ता भएका छन्। तीमध्ये २० वटा उजुरी फर्छ्यौट भइसकेका छन् भने बाँकी उजुरी आवश्यक कानुनी प्रक्रियामा रहेका छन्।
खुला छलफल सत्रमा स्थानीय नागरिकहरूले सडक, खानेपानी, कृषि, शिक्षा, स्वास्थ्य, कर व्यवस्थापन, सरसफाइ, सेवा प्रवाह तथा पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न जिज्ञासा, सुझाव तथा गुनासा राखेका थिए। नगरप्रमुख गुरु प्रसाद भट्टराईले उठाइएका सबै प्रश्नको तथ्यपरक र स्पष्ट जवाफ दिँदै नगरपालिकाले नागरिकको सुझावलाई आगामी नीति, योजना तथा कार्यक्रम निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे। उहाँले सुशासन, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्यलाई अझ प्रभावकारी बनाइने उल्लेख गरे।
कार्यक्रममा सहभागीहरूले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई अझ विश्वासिलो बनाएको, नगरपालिकाका गतिविधिबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने अवसर मिलेको तथा जनप्रतिनिधिसँग खुला रूपमा संवाद गर्न पाएको भन्दै कार्यक्रमको प्रशंसा गरेका थिए। जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघसंस्था, उपभोक्ता समिति, सञ्चारकर्मी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रमको सहजीकरण गल्याङ एफएम र गल्याङ सञ्चार प्रालिले संयुक्त रूपमा गरेका थिए।
सार्वजनिक सुनुवाइमार्फत गल्याङ नगरपालिकाले आफ्नो आर्थिक, प्रशासनिक तथा विकासात्मक गतिविधिको पारदर्शी समीक्षा गर्दै सुशासन, जवाफदेहिता, नागरिक सहभागिता र प्रभावकारी सेवा प्रवाहप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोराएको छ।
सम्बन्धित समाचार

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

स्याङ्जामा सामाजिक तथा धार्मिक सद्भाव र्याली सम्पन्न

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित
