कृषि पर्यटन

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

गोपाल अधिकारीसमाचार रिपोर्टर
१९ साउन २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

स्याङ्जा, श्रावण १९। “हरित अभियान, समृद्ध किसान! फलफूल रोपौं, आत्मनिर्भर बनौं” भन्ने मूल नारासहित नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय गल्याङले सदस्यहरूको आयआर्जन वृद्धि, वातावरण संरक्षण तथा आत्मनिर्भर कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले फलफूलका बिरुवा वितरण कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमअन्तर्गत संस्थामा आबद्ध ६९ जना सदस्यलाई आँप, लिची, कागती, सुन्तला, अम्बा, अङ्गुर तथा एभोकाडो लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा वितरण गरिएको शाखा प्रमुख टिका कुँवर क्षेत्रीले जानकारी दिनुभयो। शाखा प्रमुख क्षेत्रीका अनुसार सदस्यहरूलाई व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित गर्दै कृषि उत्पादनमा वृद्धि, घरपरिवारको आयआर्जन अभिवृद्धि तथा वातावरण संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

संस्थाले आगामी दिनमा पनि यस्ता उत्पादनमुखी तथा वातावरणमैत्री कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। स्थानीय स्तरमा हरियाली प्रवर्द्धन, आत्मनिर्भर कृषि प्रणालीको विकास तथा आर्थिक सशक्तीकरणमा यस्ता अभियानले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा सहभागी सदस्यहरूले फलफूलका बिरुवा वितरण अभियानलाई समयानुकूल, उपयोगी तथा ग्रामीण अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने उदाहरणीय पहलका रूपमा प्रशंसा गरेका छन्।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।