कर्णाली

यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे, तिहारका पर्वहरूको मिति सार्वजनिक...

ग
गोपाल अधिकारीसमाचार रिपोर्टर
१७ कार्तिक २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
यस वर्षको भाइटीकाको शुभसाइत बिहान ११:०७ बजे, तिहारका पर्वहरूको मिति सार्वजनिक...

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विक्रम संवत् २०८३ सालको यमपञ्चक अर्थात् तिहारका विभिन्न पर्व तथा भाइटीकाको शुभसाइत सार्वजनिक गरेको छ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार यस वर्ष भाइटीका कार्तिक २५ गते बुधबार परेको छ। उक्त दिन भाइटीका लगाउने उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा रहेको दक्षिण एसियाली ज्योतिष महासङ्घ केन्द्रीय तथा अन्तर्राष्ट्रिय समितिका महासचिव रविन पंगेनीले जानकारी दिनुभएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहार पर्वको तालिकाअनुसार कार्तिक २० गते शुक्रबार धनत्रयोदशी तथा यमदीपदान, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरि जयन्ती मनाइनेछ।

त्यस्तै, कार्तिक २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार, लक्ष्मीपूजा तथा सुखरात्रि, २३ गते सोमबार गाईपूजा र २४ गते मंगलबार गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हःपूजा मनाइनेछ। सोही दिन नेपाल संवत् ११४७ पनि प्रारम्भ हुनेछ। यसैगरी, कार्तिक २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइने समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार भाइटीकाका दिन दाजुभाइ पश्चिम फर्कने र दिदीबहिनी पूर्व फर्केर टीका लगाइदिने परम्परागत विधि उल्लेख गरिएको छ।
महासचिव पंगेनीले समितिबाट प्रकाशित सूचनालाई आधार मानी पर्वहरूको मिति र साइतबारे जानकारी गराउँदै सबैलाई शास्त्रीय विधि, परम्परा र संस्कृतिअनुसार तिहार मनाउन आग्रह गर्नुभएको छ।

नेपालीहरूको दोस्रो ठूलो चाडका रूपमा परिचित तिहार धार्मिक, सांस्कृतिक र पारिवारिक आत्मीयताको सुन्दर पर्व हो। पाँच दिनसम्म मनाइने यमपञ्चकमा काग, कुकुर, गाई, गोरु तथा गोवर्धनको पूजा गर्नुका साथै धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ।

विशेषगरी भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको प्रेम, विश्वास, सद्भाव र आत्मीय सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। उज्यालो, उमङ्ग र आपसी सद्भावको सन्देश बोकेको तिहारले नेपाली समाजमा मौलिक संस्कृति र पारिवारिक एकताको महत्त्वलाई अझ बलियो बनाउँदै आएको छ।

ग
गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।