नागरिक को शान्ति सुरक्षामा चासो बढाउँदै गल्याङ प्रहरी, चाडपर्व लक्षित सुरक्षा सतर्कता कडा

गल्याङ, कात्तिक २० । चाडपर्व नजिकिँदै गर्दा नागरिकको शान्ति सुरक्षा कायम गर्न गल्याङ प्रहरीले सुरक्षा सतर्कता बढाएको छ। चाडपर्वका समयमा हुन सक्ने जुवातास, लागुऔषध ओसारपसार तथा सेवन, आपराधिक गतिविधि र अन्य विकृति विसङ्गति नियन्त्रणलाई प्राथमिकतामा राख्दै प्रहरीले सुरक्षा निगरानीलाई थप प्रभावकारी बनाएको हो।
यसैक्रममा गल्याङ नगरपालिका–३ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा बसेको वडा स्थानीय सुरक्षा समितिको बैठकले चाडपर्व लक्षित सुरक्षा व्यवस्थाका विषयमा छलफल गरेको छ। बैठकमा समाजमा शान्ति सुव्यवस्था कायम राख्ने, जुवातास तथा लागुऔषध नियन्त्रण गर्ने र सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्ने विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।
कार्यक्रममा गल्याङ प्रहरी चौकीका प्रहरी नायब निरीक्षक यमनाथ बगालेसहितको प्रहरी टोलीले नागरिकसँग सुरक्षा अवस्थाबारे छलफल तथा अन्तरक्रिया गरेको थियो।
कार्यक्रममा बोल्दै प्रहरी नायब निरीक्षक बगालेले नागरिकको शान्ति सुरक्षा कायम गर्न गल्याङ प्रहरीले आवश्यक सतर्कता अपनाउँदै आएको बताउनुभयो। उहाँले कानुनविपरीतका गतिविधिमा संलग्न जोकोहीलाई पनि कानुनी दायरामा ल्याइने स्पष्ट पार्दै शान्ति सुरक्षामा कुनै सम्झौता नगरिने बताउनुभयो।
त्यसैगरी, वडा अध्यक्ष भट्टराईले आफ्नो गाउँघर तथा वरपर कुनै पनि शङ्कास्पद वा आपराधिक गतिविधि भएको जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न नागरिकलाई आग्रह गर्नुभयो। सुरक्षा कायम गर्नु प्रहरीको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको पनि साझा दायित्व भएको उहाँको भनाइ थियो।
स्थानीय सरोकारवालाहरूको सहभागितामा सम्पन्न बैठकले चाडपर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन प्रहरी र समुदायबीच सहकार्य तथा समन्वयलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।