गण्डकी

गल्याङमा शिक्षा र पत्रकारिताबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित विद्यालयमा पत्रकार सम्मान तथा दशैं शुभकामना आदानप्रदान...

ग
गोपाल अधिकारीसमाचार रिपोर्टर
२९ असोज २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गल्याङमा शिक्षा र पत्रकारिताबीचको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यसहित विद्यालयमा पत्रकार सम्मान तथा दशैं शुभकामना आदानप्रदान...

असोज २९, स्याङ्जा। गल्याङ क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको श्री आदर्श आवासीय माध्यमिक विद्यालय, गल्याङले गल्याङस्थित सक्रिय पत्रकारहरूलाई सम्मान गर्दै दसैँ विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

आजभन्दा करिब ४१ वर्षअघि अर्थात् वि.सं. २०४२ सालमा गल्याङ क्षेत्रमा शिक्षाको ज्योति फैलाउने उद्देश्यले स्थापना भएको उक्त विद्यालयले जिल्लाका विभिन्न शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कायम गर्दै आएको छ। स्याङ्जा जिल्लाका निजी विद्यालयमध्ये अग्रणी स्थानमा रहेको यस विद्यालयले शैक्षिक गतिविधिसँगै विद्यार्थीको सर्वाङ्गीण विकासलाई समेत प्राथमिकता दिँदै आएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ भट्टराई, प्रधानाध्यापक लक्ष्मण भुसाल लगायत सञ्चालक समिति सदस्य तथा शिक्षकहरूको सहभागितामा सम्पन्न कार्यक्रममा गल्याङ क्षेत्रका क्रियाशील पत्रकारहरूलाई सम्मान गर्नुका साथै दसैँको शुभकामना आदानप्रदान गरिएको थियो।

कार्यक्रममा विद्यालय र पत्रकारिताबीचको सम्बन्धलाई अझ सुमधुर बनाउने, शिक्षा तथा शैक्षिक गतिविधिको विकास र प्रवर्द्धनमा सहकार्य गर्ने तथा समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विषयमा जोड दिइएको थियो। राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिता र शैक्षिक संस्थाबीचको सहकार्यले विद्यालयका राम्रा अभ्यास, उपलब्धि तथा सिर्जनात्मक गतिविधिलाई समाजसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

विद्यालयले नियमित पठनपाठनसँगै विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विभिन्न सिर्जनात्मक तथा रचनात्मक गतिविधि सञ्चालन गर्दै आएको छ। खेलकुद, नृत्य, वाद्यवादन, भाषणकला लगायतका अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको क्षमता, आत्मविश्वास र नेतृत्व विकासमा विद्यालयले विशेष ध्यान दिँदै आएको छ। कार्यक्रमले विद्यालय र सञ्चारकर्मीबीच आपसी समझदारी, सहकार्य र सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो। यस्ता कार्यक्रमले शिक्षा क्षेत्रका सकारात्मक प्रयासलाई उजागर गर्नुका साथै पत्रकारिता र शैक्षिक संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

दसैँको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देशसमेत प्रवाह गरेको छ।

ग
गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।