गण्डकी

गल्याङका पुराना नेता भट्टराई र खनाल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

गोपाल अधिकारीसमाचार रिपोर्टर
३ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
गल्याङका पुराना नेता भट्टराई र खनाल राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश

स्याङ्जा, गल्याङ — नेपाली राजनीतिमा दल परिवर्तन र चुनावी घटनाक्रमसँगै पार्टी अदलबदल गर्ने परम्परा नयाँ होइन। राजनीतिक व्यवस्था परिवर्तनसँगै नेताहरूले आफ्नो वैचारिक धार र राजनीतिक यात्रासमेत परिवर्तन गर्दै आएका छन्। राणाकालीन राजनीतिक कर्मीहरू राजतन्त्रप्रति आस्था राख्दै राप्रपामा आबद्ध भए भने पछि बहुदलीय व्यवस्थाको स्थापनासँगै धेरै नेता कांग्रेस तथा कम्युनिस्ट धारमा समाहित भए।

बहुदलीय व्यवस्थापछि पनि कांग्रेस कम्युनिस्ट बन्ने, कम्युनिस्ट कांग्रेस बन्ने तथा केही पुनः राजसंस्थाको पक्षमा उभिने क्रम निरन्तर चलिरह्यो। २०५२ सालपछि सुरु भएको माओवादी आन्दोलनमा कांग्रेस, एमाले तथा अन्य दलका नेता–कार्यकर्ताहरू समेत सहभागी भए। २०६४ सालमा माओवादी शक्ति र सत्ताको केन्द्रमा पुगेपछि कांग्रेस, एमाले र राप्रपाका धेरै नेता तथा कार्यकर्ता माओवादी प्रवेश गरेका थिए।

यस्तै राजनीतिक परिवेशबीच पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रभाव बढ्दै जाँदा पुराना दलका नेता तथा कार्यकर्ताहरू रास्वपा प्रवेश गर्ने क्रम तीव्र बनेको छ। बहुदलीय व्यवस्थामा दल परिवर्तनलाई सामान्य राजनीतिक प्रक्रिया मानिने गरिन्छ। यसले चुनावी अंकगणितमा केही प्रभाव पार्न सक्ला तर राजनीतिक विज्ञानको दृष्टिकोणले यो अस्वाभाविक विषय होइन। यसै क्रममा स्याङ्जाको तत्कालीन पकवादी गाविसमा दुई कार्यकाल गाविस अध्यक्ष तथा एक कार्यकाल वडा अध्यक्ष रहनुभएका पुराना कांग्रेस नेता हरिलाल खनाल राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ। झण्डै तीन दशक कांग्रेस राजनीतिमा सक्रिय रहनुभएका खनालले करिब १० वर्ष स्थानीय सरकारको नेतृत्वसमेत गर्नुभएको थियो। उहाँसँगै नेपाली कांग्रेसका पूर्व जिल्ला सचिव लक्ष्मण भट्टराई पनि रास्वपामा प्रवेश गर्नुभएको छ। गल्याङ क्षेत्रमा लामो समयदेखि सक्रिय यी दुई नेताको प्रवेशलाई स्थानीय राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

खनाल र भट्टराई मात्र होइन, पछिल्लो समय पुराना दल छाडेर रास्वपा प्रवेश गर्ने लहर नै चलेको देखिन्छ। चुनावी गणित, सत्ता र शक्तिको समीकरणसँगै नागरिक तथा राजनीतिक कार्यकर्ताहरू नयाँ दलतर्फ आकर्षित भइरहेका छन्। राजनीतिक शक्ति सन्तुलन समय–समयमा फेरबदल भइरहने भएकाले नयाँ दलहरूको उदय र विस्तारसँगै दल परिवर्तनको क्रम पनि जारी रहने विश्लेषण गरिएको छ। राजनीतिक दल परिवर्तनका विषयमा नेताहरूका आ–आफ्नै तर्क हुने गर्छन्। सत्ता, शक्ति, अवसर र तुलनात्मक रूपमा सकारात्मक परिवर्तनको अपेक्षा मानव स्वभावसँग जोडिएको विषय मानिन्छ। साथै राजनीतिक कर्मीहरूको व्यक्तिगत स्वार्थसँगै केही सकारात्मक उद्देश्य पनि हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्।

खनाल र भट्टराईको रास्वपा प्रवेशले गल्याङको पुरानो राजनीतिक परिवेश र आगामी चुनावी अंकगणितमा केही प्रभाव पार्न सक्ने अनुमान गरिएको छ। सत्ता प्राप्तिपछि पुराना योगदानकर्ताको सम्मान र कदर नगर्ने प्रवृत्तिप्रति असन्तुष्टि बढिरहेका बेला अन्य दलका केही नेता तथा सामाजिक अभियन्तासमेत रास्वपातर्फ आकर्षित हुन सक्ने चर्चा स्थानीय स्तरमा चल्न थालेको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।