गण्डकी

राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक गल्याङ नगर अधिवेशन सम्पन्न, दोस्रो कार्यकालका लागि फेरि भण्डारी निर्वाचित

गोपाल अधिकारीसमाचार रिपोर्टर
९ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ऐतिहासिक गल्याङ नगर अधिवेशन सम्पन्न, दोस्रो कार्यकालका लागि फेरि भण्डारी निर्वाचित

स्याङ्जा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गल्याङ नगर समितिको प्रथम ऐतिहासिक नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट स्थापना कालदेखि हालसम्म संगठन विस्तारमा सक्रिय भूमिका निर्वाह गर्दै आएका टिकाराम भण्डारी दोस्रो कार्यकालका लागि पुनः नगर सभापतिमा निर्वाचित हुनुभएको छ।

निर्वाचन समितिका अनुसार भण्डारीले कुल ५४ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको हो। उहाँका प्रतिस्पर्धी रेशमराज भण्डारीले ३९ मत प्राप्त गर्नुभएको थियो भने ३ मत बदर भएको जनाइएको छ।

गल्याङ नगर सभापति टिकाराम भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रास्वपा स्याङ्जा क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य माननीय झविलाल डुम्रे प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा बोल्दै सांसद डुम्रेले पार्टीको संगठन विस्तार, जनविश्वास तथा समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको थियो। उहाँले प्रतिनिधिसभा निर्वाचनमा रास्वपालाई अत्यधिक मत दिएर विजयी गराउने सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै स्याङ्जा क्षेत्र नम्बर–२ को विकास निर्माणका विषयमा आफू निरन्तर सक्रिय र जानकार रहेको बताउनुभयो।

सांसद डुम्रेले विगत २० वर्षमा भएका सडक विस्तारका कामभन्दा रास्वपाको नेतृत्वमा आगामी पाँच वर्षमा अझ प्रभावकारी विकास हुने दाबी गर्नुभयो। सिद्धार्थ राजमार्गलाई स्तरोन्नति गर्दै ‘डेडिकेटेड दुई लेन’ सडक निर्माण गरिने तथा सरकारी मापदण्डअनुसार पूर्वाधार विकासलाई अघि बढाइने उहाँको भनाइ थियो।

आँधीखोला हाईड्याम परियोजनाबारे उच्चस्तरीय छलफल र भेटघाट भइरहेको जानकारी दिँदै उहाँले स्थानीय जनस्तरबाट परियोजनाको पक्ष वा विपक्षमा स्पष्ट निर्णय हुनुपर्नेमा जोड दिनुभयो। प्रधानमन्त्रीले धेरै नबोल्ने विषयमा उठ्ने प्रश्नको जवाफ दिँदै सांसद डुम्रेले “सम्माननीय प्रधानमन्त्री काठमाडौं महानगरको मेयर हुँदा पनि कम बोल्ने तर काम गर्ने शैलीमा परिचित हुनुहुन्थ्यो, त्यसैले धेरै बोल्नु भन्दा काम गर्नु महत्वपूर्ण हो” भन्नुभयो। उहाँले सदनमा लामो सम्बोधन गर्नु मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै सक्षम, सक्षम र परिणाममुखी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

अधिवेशनमा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।