आक्वाको २०औँ अधिवेशन सम्पन्न, अध्यक्षमा गोपाल ढकाल

गल्याङ, स्याङ्जा – स्याङ्जाको गल्याङ–३ मा प्रधान कार्यालय रहेको आँधीखोला बहुउद्देश्यीय संस्था (आक्वा) को २०औँ अधिवेशन सम्पन्न भएको छ। बुटवल पावर कम्पनीद्वारा सञ्चालित आँधीखोला जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका बासिन्दाको हकहित संरक्षणका लागि वि.सं. २०४१ सालमा स्थापना भएको संस्थाले नयाँ नेतृत्व चयन गरेको हो।
संस्थामा स्याङ्जाका जगत्रदेवी, तुलसीभञ्ज्याङ तथा पाल्पा जिल्लाको साविक हुगी गाविसका वडा नं. १ र २ का करिब १ हजार ५० घरधुरी तथा झण्डै ६ हजार जनसंख्या आबद्ध रहेका छन्। आयोजनाबाट प्रभावित समुदायको अधिकार, विकास तथा सामाजिक सरोकारका विषयमा संस्थाले लामो समयदेखि काम गर्दै आएको छ।
२०औँ अधिवेशनबाट १३ सदस्यीय कार्यसमिति चयन गरिएको छ। अध्यक्ष पदका लागि गोपाल ढकाल, छवि भट्टराई र उदयराज अधिकारी बीच प्रतिस्पर्धा भएको थियो।
निर्वाचनमा २२४ मत खसेको निर्वाचन समितिले जनाएको छ। मतगणनाका क्रममा २ मत बदर भएको र २२२ मत सदर भएको थियो। परिणामअनुसार गोपाल ढकालले ११५ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी छवि भट्टराईले ९७ मत प्राप्त गर्नुभयो भने उदयराज अधिकारीले ३० मत प्राप्त गर्नुभएको थियो।
नवनिर्वाचित अध्यक्ष ढकालले प्रभावित क्षेत्रका नागरिकको हकहित, संस्थागत सुदृढीकरण तथा क्षेत्रीय विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। अधिवेशनमा सहभागीहरूले संस्थाको भावी कार्ययोजना र प्रभावित क्षेत्रको समग्र विकासका विषयमा समेत छलफल गरेका थिए।
सम्बन्धित समाचार

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित

मिर्सा होमस्टे : गाउँमा नयाँ आशा
