मिर्सा होमस्टे : गाउँमा नयाँ आशा

कास्कीको माछापुछ्रे गाउँपालिका–१ स्थित रमणीय मिर्सा गाउँ बसाइँसराइका कारण विस्तारै रित्तिँदै गए पनि सामुदायिक होमस्टेले गाउँमा नयाँ आशा, उत्साह र सम्भावनाको उज्यालो फैलाएको छ। २०७५ सालदेखि सञ्चालनमा आएको मिर्सा सामुदायिक होमस्टे स्थानीय आमाहरूको सक्रियता, मेहनत र आत्मीय सेवाका कारण आज आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।
मिर्सा होमस्टेमा पुग्ने पाहुनाले अर्ग्यानिक स्थानीय परिकारको स्वादसँगै गुरुङ समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, जीवनशैली र आत्मीय आतिथ्यको अनुपम अनुभव गर्न पाउँछन्। गाउँका घर–घरमा पाइने न्यानो स्वागत, स्थानीय उत्पादनबाट तयार गरिएका परिकार र गाउँले परिवेशले आगन्तुकलाई आफ्नै घरको अनुभूति गराउँछ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण मिर्सा गाउँ हरियाली डाँडाकाँडा, स्वच्छ हावा, शान्त वातावरण र हिमशृंखलाको मनोरम दृश्यले अझ आकर्षक बनेको छ। यहाँ बिहान चराको चिरबिराहटसँगै सुरु हुने दिन र साँझ गाउँको शान्त परिवेशमा बिताएका पलले जो–कोहीको मन लोभ्याउने गर्छ। पोखराको लामाचौर–भुर्जुङखोला–खारपानी हुँदै करिब एक घण्टाको यात्रापछि सहजै पुग्न सकिने मिर्सा गाउँ छोटो बिदा, पारिवारिक घुमफिर तथा प्रकृतिसँग रमाउन चाहनेहरूका लागि उत्कृष्ट गन्तव्य हो। यहाँ बिताएको केही समयले प्रकृतिसँगको निकटता, गुरुङ संस्कृतिको मिठास, गाउँको आत्मीयता र अविस्मरणीय सम्झनाको अनुपम उपहार लिएर फर्किने अनुभूति दिलाउँछ।
सामुदायिक होमस्टेले गाउँको आर्थिक गतिविधि चलायमान बनाउनुका साथै स्थानीय उत्पादनको बजारीकरण, महिला सशक्तीकरण, रोजगारी सिर्जना र गुरुङ संस्कृति संरक्षणमा समेत महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ। बसाइँसराइका कारण सुनसान बन्दै गएको गाउँलाई पुनः जीवन्त बनाउने अभियानका रूपमा मिर्सा होमस्टे आज आशाको उज्यालो बनेर स्थापित हुँदै गएको छ
सम्बन्धित समाचार

हरित अभियानमार्फत ६९ सदस्यलाई फलफूलका बिरुवा वितरण

लायन्स क्लब अफ गल्याङ सिटीद्वारा वृक्षारोपण, रजत पदक विजेता कराते खेलाडी ओमराज पौडेल सम्मानित

बिरुवा गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ५१ करोड ६२ लाखको बजेट सर्वसम्मत पारित
