कृषि पर्यटन

बिरुवा गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ५१ करोड ६२ लाखको बजेट सर्वसम्मत पारित

गोपाल अधिकारीसमाचार रिपोर्टर
११ असार २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
बिरुवा गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न, ५१ करोड ६२ लाखको बजेट सर्वसम्मत पारित

स्याङ्जाको बिरुवा गाउँपालिकाको १९ औँ गाउँसभा सम्पन्न भएको छ। गाउँसभाको चौथो बैठकमा गाउँपालिका उपाध्यक्ष भगवती शर्माले आर्थिक वर्ष २०८३/०८४ का लागि ५१ करोड ६२ लाख ६८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत बजेट गाउँसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

यसअघि गाउँपालिका अध्यक्ष सूर्यबहादुर कुँवरले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो। बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, रोजगार तथा भौतिक पूर्वाधार विकासलाई प्रमुख प्राथमिकतामा राखिएको छ। चालु खर्चतर्फ ३५ करोड ९७ लाख ६१ हजार रुपैयाँ प्रस्ताव गरिएको छ भने पूँजीगत खर्चतर्फ १५ करोड ६२ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ।

सडक पूर्वाधार अन्तर्गत गाउँपालिकाको केन्द्रलाई वडा कार्यालयसँग जोड्ने रणनीतिक सडकहरूको स्तरोन्नतिका लागि उल्लेख्य बजेट छुट्याइएको छ। साथै पालिकास्तरीय अस्पताल सञ्चालनका लागि १ करोड ४८ लाख रुपैयाँ विनियोजन गरिएको छ। कृषि उत्पादन वृद्धि तथा वास्तविक कृषकलाई प्रोत्साहन गर्न कृषक अनुदान, कृषि बीउबिजन वितरण तथा उत्पादनमुखी कार्यक्रमहरू सञ्चालन गरिने जनाइएको छ। शिक्षा क्षेत्रतर्फ कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि पोषणयुक्त खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाउन बजेट व्यवस्था गरिएको छ। अभिभावकविहीन बालबालिकाको कक्षा १२ सम्म निःशुल्क शिक्षाको व्यवस्था मिलाउन समेत आवश्यक बजेट विनियोजन गरिएको छ।

त्यसैगरी प्रधानमन्त्री रोजगार कार्यक्रम, श्रमिक तथा कामदारको सामाजिक सुरक्षा कोषमा आबद्धता, सामुदायिक भवन निर्माण तथा बस्तीस्तरीय पूर्वाधार विकासका कार्यक्रमलाई समेत बजेटमा समेटिएको छ। गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम तथा बजेटले स्थानीय विकास, सेवा प्रवाहको प्रभावकारिता र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।