खेलकुद

व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल

गोपाल अधिकारीसमाचार रिपोर्टर
२६ जेठ २०८३
अनुमानित पढ्ने समय : ५ मिनेट
शेयर:
व्यवसायिक सफलताको खोजीमा दुई भाइको गन्तव्य : स्याङ्जाको वालिङमा सञ्चालनमा आयो स्केट सिटी हल

वालिङ, स्याङ्जा । युवा व्यवसायी दुई दाजुभाइको लगन, परिश्रम र व्यवसायिक सोचको परिणामस्वरूप स्याङ्जाको वालिङमा आधुनिक सुविधासम्पन्न ‘स्केट सिटी हल’ सञ्चालनमा आएको छ। करिब १ करोड १० लाख रुपैयाँभन्दा बढीको लगानीमा निर्माण गरिएको यो हललाई सांगीतिक, शैक्षिक, व्यावसायिक तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।

परियोजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सञ्चालक विशाल केसीले स्केट सिटी हलले वालिङ क्षेत्रको सामाजिक, सांस्कृतिक तथा व्यवसायिक गतिविधिलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार हलमा सांगीतिक कार्यक्रम, सांस्कृतिक प्रस्तुति, तालिम तथा प्रशिक्षण, शैक्षिक कक्षा, सेमिनार, गोष्ठी लगायत विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने सुविधा उपलब्ध छ। स्थानीय उत्पादनको बजारीकरण तथा प्रवर्द्धन गर्ने उद्देश्यले साप्ताहिक कृषि मेला सञ्चालन गर्ने योजना समेत अघि सारिएको छ। यसले किसान र स्थानीय उत्पादकलाई प्रत्यक्ष लाभ पुग्ने अपेक्षा गरिएको छ।

हलभित्र सञ्चालनमा रहेको रेष्टुरेन्टमा स्थानीय तथा रैथाने परिकारको स्वाद लिन सकिने व्यवस्था मिलाइएको छ। यसबाट स्थानीय खाद्य संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा देवराज गैह्रेले सप्तक डान्स स्टुडियोमार्फत नृत्य कक्षा, सांस्कृतिक कार्यक्रम तथा सिर्जनात्मक गतिविधिहरू सञ्चालन गरिने जानकारी दिनुभयो। उहाँका अनुसार यसअघि छुट्टाछुट्टै रूपमा सञ्चालन हुँदै आएका स्केट सिटी हल र सप्तक डान्स स्टुडियोलाई अब एकीकृत सेवासहित एउटै स्थानबाट सञ्चालन गरिनेछ।

पत्रकार सम्मेलनमा स्थानीय राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, सामाजिक अगुवा तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। व्यवसायिक क्षेत्रमा केही नयाँ र दीर्घकालीन गर्ने उद्देश्यसहित अघि बढेका दुई भाइको यो प्रयासले वालिङलाई सांस्कृतिक, शैक्षिक तथा व्यवसायिक गतिविधिको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गोपाल अधिकारीसमाचार रिपोर्टरन्युज करुणा — नेपालको विश्वस्त र निष्पक्ष डिजिटल समाचार पोर्टल।